चेन्नई, असार ५ । कोरोना संक्रमितको संख्या आकासिन थालेपछि दक्षिण भारतको चेन्नई शहरसहितका तीन जिल्लालाई पुन: लकडाउन गरिएको छ।
अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने गरी १२ दिनका लागि लकडाउन गरिएको हो। भारतको छैटौं ठूलो शहर चेन्नई तामिलनाडु राज्यको राजधानीसमेत हो। तामिलनाडुमा अहिलेसम्म ५० हजार कोरोना संक्रमित भेटिएकोमा ३७ हजार चेन्नईका छन्। चेन्नईलाई भारतकै ठूलो कोरोना हटस्पट मानिएको छ।
तामिलनाडुमा मात्रै कोरोनाका कारण ६ सय जनाले ज्यान गुमाइसकेका छन्। भारतका अन्य शहरमा यसरी दोहोर्याएर लकडाउन गरिएको छैन।
लकडाउनका क्रममा सार्वजनिक सवारी‚ रेस्टुरेन्ट‚ विद्यालय आदि बन्द गरिएका छन् भने सरकारी कार्यालय तथा बैंकलाई एक तिहाइ कर्मचारी राखेर सञ्चालन गर्न दिइएको छ। बाह्र दिनपछिको स्थिति हेरेर थप निर्णय लिइने तामिलनाडुका मुख्यमन्त्री इ।के। पलानीस्वामीले बताएका छन्।


























