चितवन, असार ५ । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ।
कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका श्यया आइसोलेसनमा राखिएको छ। कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिएका छन्। हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन्। क्वारेन्टिनमा २ सय ५६ जना छन्।
सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो। आइसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो। ढकालले अब दुई श्ययाको भेन्टिलेटरसहित सघन उपचार कक्ष माडीमा नै स्थापना गरिने बताएका छन्। चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताएका छन्।
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० श्यया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ। यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० श्यया उपलब्ध गराइएको उनले जानकारी दिएका छन्। भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए।
न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन्। कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ। न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिएका छन्। रासस


























