काठमाडौं, असार ५ । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको औषधि आयात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार रुपैयाको तयारी औषधि तथा यससँग सम्बन्धित कच्चा पदार्थ आयात भएको हो। कुल ४ अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजारको औषधिका कच्चा पदार्थ आयात भएको छ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा ३ लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थ पनि आयात भएको छ। उनका अनुसार बन्दाबन्दी सुरु भएपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको छ।
पहिलो हप्तादेखि दसौं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा ६.९ प्रतिशत र दाल तथा गेडागुडी आयातमा १४.७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी तरकारीमा ४ प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा २ हजार ६५८ प्रतिशत, औषधि कच्चा पदार्थमा ३०.१ र तयारी औषधिमा ४४.२ प्रतिशतले वृद्धि भएको छ। रसुवागढीबाहेक सबै सीमा नाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयको भनाई छ।
गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधि लगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा ३ हजार ८९० ट्रकहरु प्रवेश गरेका छन्। ती मध्येमा धान बोकेका ७०, मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१ ट्रक प्रवेश गरेका छन्। यसैगरी, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका ९ र तरकारीका ८२१ व्टा ट्रक उपत्यका प्रवेश गरेका थिए। रासस


























