काठमाडौं, असार ४ । कुवतेबाट १ सय ५० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन्।
कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो। यसअघि चारवडा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन्। त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ।
आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन्। उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ। जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फकाइएको छ। बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ।
यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ।
घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ। होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ। यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वरेण्टीनमा राखिने छ। सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाण्डौमा पनि झण्डै १५ सय क्षमताको क्वरेण्टीन बेडहरुको व्यवस्था गरेको छ।
सामान्य अवस्थामा भने सेनाको समन्वयमा विदेशबाट फर्कनेलाई सम्बन्धित जिल्ला नै पठाइन्छ र सम्बन्धित पालिकाले व्यवस्था गरेको क्वरेण्टीनमा बस्नु पर्छ।
यस्तै आजै, ओमानबाट १४७ जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ। ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १४७ नेपाली स्वदेश ल्याउन लागेको हो। सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ।
यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन्। त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो।
स्वदेश फर्कन १५८ जनाले टिकट काटेको हिमालय एअरलाइन्सले जनाएको छ। जहाज काठमाण्डौबाट क्वालालाम्पुरका लागि उडिसकेको छ। मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्नेछ। यस्तै यूएईमा समस्यामा परेका नेपाली लिन नेपाल एअरलाइन्स त्यहाँ पुगिसकेको छ।


























