चितवन। ७२ घण्टामै बनेकाे अस्पताल भनेर चर्चा कमाएकाे भरतपुर अस्पताल मातहत सञ्चालनमा रहेकाे भरतपुर कोरोना (विशेष) अस्थायी अस्पताल बन्द भएको छ। भरतपुर अस्पतालले मंगलबार दिउँसाे विज्ञप्ति जारी गर्दै अस्पतालमा रहेका काेराेना संक्रमित बिरामीलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरेपछि अस्थायी अस्पताल बन्द गरेकाे जानकारी गराएकाे थियाे। तर दिनभर यसको आलोचना भएपछि अस्पतालले साँझ सोहि विज्ञप्तिलाई सच्याउँदै ‘मर्मत सम्भारका लागि’ बन्द गरिएको जनाएकाे छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार शनिबार र आइतबार दुईदिन गरी १८ जना बिरामीलाई भरतपुर अस्पताल सारेर चितवन उद्याेग संघद्वारा निर्मित अन्तर्राष्ट्रिय एक्स्पाे सेन्टरमा स्थापना गरेकाे अस्थायी अस्पताल बन्द भएकाे औपचारिक जानकारी गराएका हुन्।
तर उक्त सूचना जारी गरेकाे करिब ८ घण्टापछि भरतपुर अस्पतालले काेराेना अस्थायी अस्पताल मर्मत गर्नुपर्ने भएकाेले केही समयकाे लागि मात्रै बन्द गरेकाे जनाएकाे हो। मंगलबार मध्यान्ह १२ः५० मा निकालिएको पहिलाे विज्ञप्तिमा बिरामीलाई भरतपुर अस्तपताल सारेपछि अस्थायी अस्पताल बन्द गरेकाे भनिएकाे छ भने राति ९ बजे निकालिएको दाेस्राे विज्ञप्तिमा अस्थायी अस्पताल मर्मत सम्भारका लागि सेवा स्थगन गरेकाे भनिएकाे छ। मंगलबार दिउँसाे सेवा बन्द गरेकाे विज्ञप्ति आएपछि सामाजिक सञ्जालमा विभिन्न खालकाे टिप्पणी आएका थिए। फेसबुकमा सच्याइएको विज्ञप्ति पोस्ट गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीले सर्वसाधारणको चासोलाई धन्यबाद दिएका थिए र विज्ञप्ति सच्याइएको जानकारी गराएका थिए।

सुरुवाती चरणमा ७२ घण्टाभित्रै अस्पताल बनेकाे भनेर ठूलै प्रचारबाजी भए पनि निर्माणकाे केही समयदेखि अस्पताल पूरै विवादित बनेकाे छ। गतवर्ष चैत ७ गतेबाट सञ्चालनमा ल्याएकाे अस्पतालमा कार्यरत कर्मचारीहरुबाटै सामान चाेरीकाे आराेप खेप्दै आएकाे अस्पतालमा केही दिनअघि मात्रै बिरामी सुत्ने ओच्छ्यान मुनिसम्म शाैचालयकाे पानी आएकाे कुरा बाहिरिएसँगै थप विवादमा परेकाे थियाे। अस्पतालमै रहेका बिरामीले नै पानीकाे पाेखरी बनेकाे भिडियाे खिचेर सार्वजनिक गरेपछि अस्पताल प्रशासनले तत्काल अस्पतालका बिरामीलाई भरतपुर अस्पताल सारेकाे थियाे। सो शौचालय २५ लाख खर्च गरेर बनेको भन्ने विषयले पनि सामाजिक सञ्जालमा निकै ब्यङ्ग्य खेप्नु परेको थियो।
पछिल्लो समय अस्पतालमा रहेका स्वास्थ्य उपकरणसँगै अन्य सामग्री अस्पतालकै कर्मचारीले चोरी गरेको भनिएकाे सीसीटिभी फुटेज बाहिरिएपछि भरतपुर अस्पतालका एक जना र भरतपुर महानगरपालिकाका दुईजना कर्मचारी विवादमा तानिएका थिए। चाेरीकाे आराेप लागेका उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा केही दिनअघि मात्रै उजुरी परेकाे थियाे। उजुरीपछि भरतपुर महानगरपालिकाले अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएपछि चितवन प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। यसअघि बैशाख १५ गते अस्पतालकाे सामान चाेरीकाे विषयमा समाचार आइसकेपछि १६ गते हेटाैँडाबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले छापा मारेर कागजात लगेकाे छ।
यसको अलावा आर्थिक हिनामिनाको आरोप पनि यस अस्पतालले खेपिरहेको छ।
यस्ता छन् दुई विज्ञप्ति:



























