काठमाडौं, असार २ । सरकारले यसअघि वितरण गरेको सबै सवारी पास रद्द गरेको छ।
अब ट्राफिक प्रहरीले पासभन्दा पनि गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्रै चल्न दिने गृह मन्त्रालयले जनाएको छ।
त्यही अनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी चलिरहेका छन्। आज जोर गते भएकाले मोटरसाइकल तथा निजी गाडीको अन्तिम नम्बर जोर भएका गाडी मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेट भएका गाडी चलाइएको पाइएमा कारबाही स्वरुप दिनभरी नै होल्ड गरिनेछ। सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्न दिने निर्णय गरेको छ।
यसैबीच मकवानपुरको भिमफेदीमा पहिरो खसेपछि कुलेखानी हुँदै काठमाण्डौ आउने सडकखण्ड बन्द भएको छ।
राति भिमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ। अत्यावश्यक सामान बोकेका, एम्बुलेन्स र अनुमतिप्राप्त गाडी मात्र काठमाण्डौ भित्रिन र बाहिरिन पाउनेछन्।


























