असार १ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
अल्फ्रेडो डी स्टेफानो मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे।
इबरका पेड्रो बिगासले एक गोल फर्काए।
खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो। ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो।
त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो।
दोस्रो हाफमा इबरले एक गोल फर्कायो। खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन्।
जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ। र, उपाधि होड कायम राखेको छ।
बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। बार्सिलोनाको ६१ अंक रहेको छ।
पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ। एजेन्सी


























