काठमाडौं, जेष्ठ ३२ । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो।
नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए। त्यो आकस्मिक काम के आइलाग्यो चाहिँ उनले भन्न चाहेनन्। आइतबार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित भएको छ।
दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित भएको पौडेलले बताए। आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा।युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो।
नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो। दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ। नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन्।


























