जेष्ठ ३१ । कोरोना भाईरसको कारण स्थगित भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर र अक्टोबरमा गर्ने तयारी भएको छ।
कोरोनाको कारण दुई पटक मिति घोषणा भएर स्थगित लिग अझै अनिश्चित रहेको छ। तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भने यस वर्षको प्रतियोगिता सेप्टेम्बर र अक्टोबरमा गर्ने तयारी गरेको हो।
यस वर्ष तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप र एसिया कप नभए आईपीएल सेप्टेम्बर र अक्टोबर भित्र हुनेछ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले विश्वकप र एसिया कप आयोजना नभए आईपीएल सेप्टेम्बर र अक्टोबर भित्र गराउने योजना भएको बताए।
‘हामी आईपीएल आयोजनाका मितिहरू हेर्दैछौँ। तर, यो टी-ट्वान्टी विश्वकप र एसिया कपमा निर्भर छ। त्यसैको अधिनमा अह्मी सेप्टेम्बर र अक्टोबरमा संचालन गर्ने योजना बनाईरहेका छौँ,’ पटेलले भने।
ईपीएलको १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो। कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो। तर, भारत सरकारले लकडाउनको अवधि थप गरेसँगै आईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको थियो।
यस्तै पटेलले आईपीएल बन्द रंगशालामा हुने समेत बताए।
‘विश्वकप क्रिकेट खाली रंगशालामा गराउन सकिदैन। तर, आईपीएल लिग हो। यसलाई बन्द रंगशालामा खेलाउन सकिन्छ। प्रतक्ष प्रशारण कम्पनि र खेलाडीहरु तयार छन्। किनकी उनीहरु खेल्न चाहन्छन्,’ पटेलले भने।
अष्ट्रेलियामा आयोजना हुने विश्वकपबारेको निर्णय आईसीसीले अर्को महिना गर्नेछ। तर, अष्ट्रेलियामा विश्वकप हुने सम्भावना बढेको छ।
अष्ट्रेलिया सरकारले हालै रंगशालामा १० हजार दर्शकलाई खेल हेर्न अनुमति दिईसकेको छ। एजेन्सी


























