काठमाडौं, जेष्ठ ३० । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ।
शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरू सबै पुरुष रहेका निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन्। उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन्। यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ।
स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जनामध्ये १ जनाको उमेर खुलेको छैन। पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन्। पर्वतकै अर्का एक जना संक्रमितको स्थानीय तह खुलेको छैन।
तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लाने तयारी भएको जनाइएको छ।



























