काठमाडौं, जेष्ठ २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानबिन गर्न सकिने बताएका छन्।
संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिँदै विद्युतिय सवारीको कर बढाउने विषयमा चुहावट भए-नभएको छानविन गर्न सकिने बताएका हुन्।
विधेयकमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतीय सवारी साधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए।
अर्थमन्त्री खतिवडाले जेठ १ गते देखि ७ गते सम्म ७५ वटा र १६ गते सम्म १९ वटा विद्युतिय गाडी भन्सारबाट छुटेको र कुनैपनि व्यवसायीक घरनाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पस्ट पारे। उनले करको चुहावट गरी विद्युतिय गाडी छुटाइएको भन्दै अर्थमन्त्रालको व्यवसायिकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह गरे।
उनले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानबिन गर्न सकिने दोहोर्याए।
उनले भने, ‘जेठ १ देखि ७ गतेको बीचमा ७५ वटा गाडी आए। त्यसपछि १६ गते १९ वटा गाडि आएर समग्रमा ९३ वटा गाडी आए त्यहीबेला १ सय ७९ वटा पेट्रोलियमका गाडी पनि छुटे। यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थमन्त्रालयको व्यवसायीकतासँग जोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी ब्याख्या गर्दा अन्याय पनि त हुँदो हो नी। यसको सबै विवरणहरु सिस्टममा छ। अर्थमन्त्रालयको गाडीको विवरण सबै। माननिय सदस्यहरलाई म देखाइदिन्छु कुन कुन दिन कति गाडि छुटेका छन् भनेर भ्रम नफैलाऔं। यदि जेठ ७ गते अगाडि नै करको विषयमा कसैले चुहायो भने त्यो पनि छानविन गरौं छलफल गरौं तर भ्रामक कुरा नगरौं।’
अर्थमन्त्री खतिवडाले करका अंकहरु परिवर्तन जेठ १४ गते राति मात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको दाबी गरे। उनले आफ्नो दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यवसायीक घरानाको लागि काम नगरेको र अवपनि नगर्ने स्पस्ट पारे।
उनले बजेट आउनुभन्दा अघि पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरु १७९ वटा छुटेको बताए। १४ गते दिउँसो २ वटा विद्युतीय गाडि मात्रै छुटेकाले सयौं गाडी छुट्यो भन्ने भ्रममा नपर्न समेत अर्थमन्त्री खतिवडाले आग्रह गरे।
चक्लेटमा कर घटाइएको विषयमा प्रष्टिकरण दिँदै उनले अहिलेको संसद एमसीसी र चक्लेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताए।
उनले अघिल्लो वर्षहरुमा चक्लेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको स्पष् पारे।


























