काठमाडौँ । गत चैत ११ गतेदेखि लकडाउन जारी राखेकाे सरकारले आगामी लकडाउनको स्वरुप परिवर्तनबारे बुधबार टुंगो लगाउने भएको छ। आज (मंगलबार)लाई निर्धारित मन्त्रिपरिषद बैठक भोलि (बुधबार) दुई बजे बस्ने र, साेही बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरी खोल्नेछ।
यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ। लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।
कतिपय व्यवसायीले लकडाउनकाे स्वरुप परिवर्तन गरेर सावधानीका साथ व्यवसाय खुलाउनुपर्ने माग गर्दै आएका छन् भने दैनिक जीवनयापनमा समेत ठूलाे असर पुगेकाे छ। लकडाउनकाे अवधि थप्दै लगे पनि काेराेना संक्रमणकाे दर भने बढ्दै गइरहेकाे छ। यसले पनि सबैलाई अन्याैलमा पारेकाे छ।


























