काठमाण्डौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले २०२० को भ्रमण वर्षमा केही धक्का दिएको बताएका छन्।
मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए।
प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए।
जसको जवाफ प्रधानमन्त्री ओलीले बुधवार नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा दिएका हुन्।
के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो।’
‘हामीले २०२० लाई नेपाल भ्रमण वर्ष भनेका छौं। कोरोना भाइरसले यो प्रयासमा केही धक्का देखियो भनेर भनेको थिएँ’ ओलीले भने,‘हामी सकभर धेरै धक्का पर्न नदिनेमा छौं। एक जनामा मात्र लक्ष्यण देखिएको छ। त्यसलाई कसरी नियन्त्रणमा लिने भन्नेमा गम्भीर छौं।’
कोरोनाको संक्रमण बढ्छ मत्थर भएर जाँदैन भन्ने होइन। हामीले सावदानी अपनाउँदै जागरण गराउनु पर्छ। फैलन नपाओस् भनेर ध्यान दिन जरुरी छ।