– प्रविनकुमार बम
कोभिड १९ बाट संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ। मेडिकल डाक्टर र वैज्ञानिकहरु भ्याक्सिन र औषधि पत्ता लगाउन अहोरात्र खटिएका छन्। चीनलगायत केही राष्ट्रहरुले यही वर्षभित्र भ्याक्सिन आउन सक्ने सम्भावना देखाएका छन्। नेपालमा लकडाउन भएको झन्डै–झन्डै ३ महिना पुग्न लाग्यो। संक्रमितहरु अस्पतालको शैय्यामा छन्, संक्रमणको शंका भएकाहरू क्वारेन्टाइनमा छन् अनि बाँकी स्वास्थ्य मानिसहरु दुई महिनादेखि घरभित्र बस्न बाध्य छन्। सबैको अवस्था लगभग लगभग पिँजडाको पंक्षी झैं भएको छ। अहिलेको डिजिटल दुनियाँमा सबैको दिनचर्या मोबाइल, टिभी र ल्यापटपमा सीमित छ।
लकडाउनले केही हदसम्म संक्रमणको रोकथाम त पक्कै गरेको छ। तर के मानिसहरु मानसिक, सामाजिक र भावोनात्मकरूपमा तन्दुरुस्त रहन सकेका छन् त ? कतै हामी स्वास्थ्यको एउटा पाटोलाई मात्र ध्यान त दिइरहेका छैनौं ? विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार ‘स्वास्थ्य भनेको रोग र दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्त हुनु हो।’
कोभिड–१९ र लकडाउन दुवैले हाम्रो मानसिक स्वास्थ्यमा असर पारेको तथ्य डब्लुएचओले बताएको छ। यस्तो अवस्थामा जो कोहीमा तनाव हार्मोन (कोर्टिसोल)को मात्रा बढी भएर केही हदसम्म उराठ लाग्नु, मनमा डर र चिन्ता हुनु स्वभाविक हो। विगतमा भएका SARS र MERS जस्ता महामारी को तथ्यांक हेर्दा यस्तो अवस्थामा मानिसको मानसिक र भावोनात्मक स्वास्थ्यमा (mental and emotional health) असर पर्ने गरेको पाइएको छ। मुख्य त (stress and anxiety) तनाव र चिन्ताले सताउने गरेको पाइएको छ।
एकातिर कोरोना लागेर पो मरिन्छ कि भन्ने डर छ त अर्कोतिर दैनिक एउटै दिनचर्याले सबैलाई उराठ बनाएको छ। मनमा धेरै डर, चिन्ता भइरहनु, उदास हुनु, मनोबल कम्जोर हुनु, एउटै कुरा मनमा खेलिरहनु मानसिक अस्वस्थताका लक्षण हुन्। कतिपय मानासिक रोगका लक्षणहरुको प्रस्तुति शारीरिक पनि हुन सक्दछ। जस्तैः जोरले मुटु ढुकढुक गर्नु, धड्कन तेज भएको अनुभव हुनु, सास फेर्न गार्हो हुनु, धेरै पसिना आउनु, निन्द्रा नलाग्नु, भोक हराउनु, पेट दुख्नु, चक्कर आउनु, टाउको दुख्नु, शरीर थरथर काप्नु, पातलो दिसा हुनु, कब्जियत हुनु आदि। यदि दीगो समयसम्म यस्ता समस्याले सताएमा मानिस डिप्रेसन, चिन्ता रोग, द्विध्रुवी बिचार (bipolar disorder) र
पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर (PTSD) जस्ता मानसिक रोगको सिकार बन्न सक्छ। कसै–कसैले आत्महत्याको पनि प्रयास गर्न सक्छन्। त्यसैले यदि यस्ता लक्षणहरू देखा परेमा बेलैमा मनोचिकित्सक (psychiyriast)को सल्लाह लिनुपर्ने हुन्छ। विशेष गरी यो महामारीको अवस्थामा तल लिखित व्यक्तिकहरुलाई मानसिक समस्याले सताउनसक्ने डर अलि बढी हुन्छ।
– मानसिक रोगका बिरामीहरु जो पहिलेदेखि नै डीप्रेसन र बिचार दोहोरिने मानसिक रोग (Obsessive Compulsive Disorder) को सामना गरिरहेका छन्,
– जेष्ठ नागरिकहरु खासगरी जो वृद्धाश्रम र केयर होम्समा आश्रित छन् र जो एक्लै बस्छन्,
– शारीरिकरुपमा अशक्त व्यक्तिहरू,
– सुगर, प्रेसर, हृदयघात र अन्य मुटु रोगका बिरामीहरू,
– बिरामीको सेवामा खटेका स्वास्थकर्मीहरू,
– क्वारेन्टाइनमा रहेकाहरु,
– अरू रोगका कारण अस्पताल भर्ना भई बसेका बिरामीहरू,
– बालबालिकाहरू।
मानसिक स्वास्थलाई मध्यनजर गर्दै डब्लुएचओले १८ मार्च २०२० मा ‘मेन्टल हेल्थ एन्ड साइकोलोजिकल कन्सिडेरेसन ड्युरिङ कोभिड १९ आउट्ब्रेक’ शीर्षकमा विज्ञप्ती जारी गरेको थियो, जसमा यस्तो अवस्थामा हुने मानसिक समस्याका बारेमा चर्चा गरिएको थियो। जेष्ठ नागरिक, एचआइभी, क्यान्सर, मधुमेह, प्रेसर र अन्य मुटु रोगका बिरामीहरु सङ्ग भाइरस विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम हुने हुँदा उनीहरुमा अझ बढी डर, चिन्ता र तनाब हुने हुनसक्छ।
अहिलेको समयमा विभिन्न सामाजिक सञ्जाल र फेक वेबसाइटहरुले मानिसमा भ्रम, डर र त्रास पैदा गर्ने खालका असत्य समाचारहरू फैलाउने गरेको पाइएको छ। यसले मानिसमा अनावश्यक डर, त्रास, चिन्ता र शंका पैदा गरेको छ जसले मानसिक स्वास्थमा नकारात्मक असर पर्न सक्छ। कोभिड–१९ ले गर्दा विद्यालय जान नपाएका, अलि बुझ्ने उमेर भएका बालबालिकाहरुको मनोविज्ञानमा समेत असर परेको छ। नयाँ कुरा सिक्न नपाउँदा, साथीहरूसित खेल्न नपाउँदा, मन परेको कुरा खान नपाउँदा, दैनिक एउटै दिनचर्या हुँदा बालबालिकाको सामाजिक एवम् मानसिक वृद्धिमा क्षति पुगेको छ। सानो कुरामा झनक्क रिसाउने, धेरै रूने, जिद्दी गर्ने अनि अलि जान्ने–बुझ्ने उमेरका बच्चाहरूले वयस्क झैँ डर, चिन्ता र तनाब लिने गरेका छन्। लकडाउनको समयमा बालबालिकामाथि हुने घरेलुु हिंसा बढ्ने गरेको विभिन्न अध्यनहरूले बताएका छन्। यी सबै कारणले गर्दा बालबालिकाको मानसिक स्वास्थका साथै सङ्गीण उन्नतिमा बाधा पुगेको छ।
बिरामीको अनवरत सेवामा लागिरहेका स्वास्थकर्मी हरुको शारीरिक र मानसिक स्वास्थ्य दुबै जोखिममा छन्। समाजले यिनीहरुले भाइरस सार्छन् भन्ने नकारात्मक दृष्टिकोणले हेर्न थालेको छ। ‘यिनीहरूले कोरोना सार्छन् है’ भन्ने मनसाय बोकेका घरबेटीहरुले कतिपय स्वास्थकर्मीहरूलाई घरबाट नै निकालेको समाचार पनि हामीले सुनेकै छौँ। यस्तो अवस्थामा मन कति खिन्न हुन्छ होला ? मन–मस्तिष्कमा कति नकारात्मक असर पर्छ होला ?
कतिपयले मानसिक तनाब, चिन्ता र डरको सामना गर्न मादक पदार्थ, धूम्रपान र लागू औषध प्रयोग गर्ने गरेका छन्, जो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ।
मानसिकरूपमा तन्दुरुस्त हुन र स्वस्थ जीवन बिताउन हामी सबैले निम्न लिखित कदमहरू चाल्न सक्छौं :
– घर–परिवार, नाता–गोता र आफन्तहरुसित घरमै समय बिताउने, मनमा लागेका कुराहरू आदानप्रदान गर्ने,
– घरबाट टाढा रहेका परिवारका सदस्य र साथीहरू शीत फोन, भिडियो कल तथा मेसेजका माध्यामबाट सम्पर्कमा रहने
– दैनिक शारीरिक ब्यायाम र योग गर्ने,
– रोग विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्न स्व्च्छ पौष्टिक आहार सेवन गर्ने,
– मस्तिष्कलाई सन्तुलनमा राख्न मस्त निन्द्राको पनि आवश्यक पर्ने भएकाले कम्तिमा पनि ७÷८ घण्टा सुत्ने,
– ब्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिने,
– रुचि अनुरुप किताब र पत्रपत्रिका पढ्ने, चित्रकला बनाउने, लेख हरु लेख्ने र बालबालिकाहरुलाई पनि रचनात्मक कार्यहरू सिकाउने,
– बालबालिकाहरुलाई घरमै बसेर खेल्न मिल्ने ‘इनडोर गेम’हरु खेलाउने
– बालबालिका तथा जेष्ठ नागरिकका कुरा हरु सुनिदिने, उनीहरुले राखेका जिज्ञासाको बुझ्ने ढङ्गमा जवाफ दिने, उनीहरूलाई स्नेह र माया गर्ने,
– फेसबुक र इन्टरनेट चाहिँदो मात्रामा मात्र चलाउने, बढीभन्दा बढी समय परिवार सँग बिताउने,
– कोभिड–१९ सँग सम्बन्धित भ्रमात्मक झुटा खबर नफैलाउने,
– मानसिक तनावबाट छुटकारा पाउने बाहानामा मादक पदार्थ, धूम्रपान र लागू औषध प्रयोग नगर्ने,
– आफ्नो पर्वाह नगरी दिनरात बिरामीको सेवामा खटेका स्वास्थकर्मीहरुलाई माया र सम्मान गरौं।
यदि यी असल बानी अनुसरण गर्यो भने पक्कै पनि हामी सबै मानसिक र शारीरिकरूपले स्वस्थ रहनेछौँ।
स्वस्थ मस्तिष्क र रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमताका बीच नङ र मासुको जस्तो अकाट्य सम्बन्ध छ। मस्तिष्क जति सन्तुलित हुन्छ प्रतिरोधात्मक क्षमता त्यति बलियो बन्दै जान्छ। झन् अहिलेको जस्तो भ्याक्सिन र औषधि पत्ता नलागेको अवस्थामा त स्वच्छ मस्तिष्क, सकारात्मक सोच र दृढ प्रतिरोधात्मक शक्ति नै भाइरसविरुद्ध लढ्ने मुख्य हतियार हुन्। त्यसैले आजैबाट सकारात्मक सोच राखौं, सफा र स्वच्छ खाऔँ, व्यक्तिगत सरसफाइमा ध्यान दिऔँ, व्यायाम र योग गरौँ अनि सारिरिक र मानसिकरूपमा तन्दुरुस्त रहौँ।
चाँडोभन्दा चाँडो कोभिड–१९ निर्क्याैल होस्, शुभकामना।
लेखक बम चितवन मेडिकल कलेज, भरतपुरमा एमबीबीएस तेस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ।























