काठमाडौं, जेष्ठ २३ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोना भाइरसको संक्रमणपछि संक्रमणमुक्त हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसमा २ सय ७२ जना पुरुष र ६१ जना महिला रहेका छन्।
शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १ सय २१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन्।
हालसम्म पीसीआर विधिबाट ८८ हजार ३ सय ६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९ सय ६६ जनाको परीक्षण भएको छ। क्वारेन्टाइनमा १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५ सय ६८ जना रहेका छन्।


























