धरान, जेष्ठ २० । प्रदेश–१ का १८ जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएर घर फर्केका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन्। उनीहरुलाई सोमबार राति अस्पतालबाट डिस्चार्ज भएका हुन्।
दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पलाले जानकारी दिएको हो।
उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ।
अब प्रतिष्ठानमा ८० संक्रमित र शंकास्पद ५ जना आइसोलेसनमा रहेको चिकित्सकले जनाएका छन्।


























