जेष्ठ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा हाल भइरहेको प्रदर्शन र प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको प्रचण्ड विनाश रोक्ने बताएका छन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताएका हुन्। उनले सेना परिचालन गर्ने समेत बताएका छन्।
उनले भनेका छनन्, ‘हामीले दंगा तथा कानून बिहीनता अन्त्य गर्दैछौँ, जुन देशभर फैलिएको छ।’
उनले अघि भने, ‘क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएका छन् र त्यसका कारण आक्रोश पनि पैदा भएको छ। तर उनको मृत्यु व्यर्थ भएन होला।’
फ्लोइडको सम्झना आक्रोशित भिडले गर्ने दंगाबाट हुन नसक्ने उनले बताएका छन्। गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमा निधन भएको थियो। उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो भाइरल भएको थियो।
ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै भने, ‘म तपाईँहरुको राष्ट्रपति हुँ, कानूनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो। म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ।’
उनले भने, ‘तर पछिल्ला दिनहरुमा हाम्रो देशलाई अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी गर्नेहरु, अपराधीसहितले जकडेका छन्। राज्य तथा स्थानीय सरकारले यसलाई नियन्त्रणमा लिन सकेनन्। त्यसैले संघीय प्रयास हुने छ।’
यसअघि उनले गभर्नरहरुसँग टेलिफोन वार्ता गरी पछिल्ला दिनमा भइरहेका प्रदर्शनमा उनीहरुको प्रतिक्रियालाई देखेर विश्व हाँसिरहेको भन्दै जागरुक हुन भनेका थिए।
वासिङ्गटन डिसी सहितका क्षेत्रमा प्रदर्शन भएका भइरहेका छन्। कर्फ्यू लगाए पनि प्रदर्शनकारीले तोडेका छन्। अब कर्फ्यू थप कडा बनाइने उनले बताए। नियम तोड्नेहरुलाई पक्राउ गरिने उनले बताएका छन्। उनीहरुलाई कानून अनुसार कारवाही गरिने चेतावनी ट्रम्पले दिएका छन्।
उनले भइरहेका प्रदर्शनलाई ‘आतंक’ को शंज्ञा दिँदै संलग्नहरुलाई आपराधिक सजाय हुने र लामो समय जेलमा राखिने बताए।
प्रदर्शन नियन्त्रणमा लिनका लागि गोलिगट्ठाले सुसज्जित हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। एजेन्सी


























