काठमाडौं, जेष्ठ १९ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ।
आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो।
उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन्।
सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो। त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ।
उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो।
दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो। त्यसपछि संविधानसभाको चुनाव भई २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो।


























