काठमाडौं, जेष्ठ १५ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ललितपुरका एकजनाको मृत्यु भएको हो। उनको ललितपुरमै रहेको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. देवकोटाले जानकारी दिए।
कलेजोको समस्या देखिएका ति पुरुष जेठ ११ गते अस्पताल भर्ना भएका थिए। १२ गते आईसीयूमा राखेर उपचार गरिएको थियो। उनको सोही दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। ती पुरुषको मृत्यु बुधबार भएको हो।
पछिल्लो चौबीस घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनले एक सय ५६ जना थपिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको बताए ।


























