काठमाडौं, जेष्ठ १५ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै छन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र दुई महिनादेखि जारी लकडाउनका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउनलागेका हुन्।
हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा सबै तहमा केही न केही अपेक्षा हुन्छ तर यो पालिको बजेट अलि विषम परिस्थितिमा आउँदै छ। यसपालि सामान्यभन्दा पनि सर्वसाधारणदेखि व्यवसायीसम्मले ठूलो अपेक्षा गरेका छन्। अझ आर्थिक प्याकेजको आशामा निजी क्षेत्र छन्।
आमनागरिकदेखि निजी क्षेत्रले गरेको अपेक्षालाई सम्बोधन गर्दै बजेट ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री खतिवडा छन्। १६ खर्बभित्रकै बजेट आउने अनुमान गरिएको बेला अहिलेको प्रमुख समस्या स्रोत व्यवस्थापन हो।
राजस्व, वैदेशिक अनुदान र ऋण, आन्तरिक ऋणलाई प्रमुख स्रोत भए पनि खर्चमा मितव्ययिता ल्याउनुपर्ने सुझाव अर्थशास्त्री केशव आचार्यको छ। उनले गौरवका आयोजनामा गएको ठूलो रकमलाई बचत गर्न सकिने र अर्थशास्त्री डिल्लीराज खनालले बुझाएको खर्च कटौतीसम्बन्धी रिपोर्टलाई लागू गर्नुपर्ने बताए।
दैनिक ज्यालादारी गर्ने मजदुरका समस्या, विदेशबाट आउने लाखौं युवाका व्यवस्थापन, निराश बनेको निजी क्षेत्रलाई आर्थिक प्याकेज, लगानी वृद्धि र विकास निर्माणमा तीव्रता दिने जस्ता विषयलाई अर्थमन्त्री खतिवडाले कतिसम्म सम्बोधन गर्न सक्लान्रु आज साँझसम्म भने पर्खिनैपर्नेछ।


























