काठमाडौं, जेष्ठ १३ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। यसअघि उनि विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए। उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो।
युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो। नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।
ढुङ्गेल तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थिए। सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो।


























