जनकपुर, जेष्ठ ११ । जनकपुरमा उपचारका लागि भर्ना गरिएका एक जना कोरोना संक्रमित भागेका छन्। सर्लाहीका ४० वर्षीय पुरुष आइतबार बिहान प्रादेशिक अस्पतालको कोरोना उपचार कक्षबाट भागेको प्रहरीले जनाएको छ।
मानसिक सन्तुलन ठीक नरहेका उनी आइतबार तेस्रो पटक अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।
एक साता अगाडि पनि अस्पतालबाटै भागेका उनी धनुषाधामबाट पक्राउ परेको र त्यहाँबाट जनकपुर ल्याउँदा ल्याउँदै बाटोबाटै भागेकोमा पुनः नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरेको कार्कीले बताए। आइतबार तेस्रोपटक अस्पतालबाटै भागेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले मानसिक सन्तुलन ठीक नरहेको उनको उपचार गर्न चिकित्सकलाई पनि हैरानी झेल्नु परिरहेको बताए। उनी भर्ना रहेको कक्षमा प्रायः मूलगेटमा ताला लगाएर राख्ने गरेको बताउँदै यादवले एकछिन ढोका खुलेको मौका छापेर पुनः भागेको जनाए। प्रादेशिक अस्पताल जनकपुरमा धनुषा, महोत्तरी र सर्लाहका गरी ९ जना संक्रमितको उपचार भइरहेको छ।


























