जेष्ठ १० । जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी छिन्। अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पछि पार्दै ओसाका विश्वमै सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी हुन्।
फोब्स पत्रिकाका अनुसार २२ बर्षकी दुई पटककी ग्रान्डस्लाम उपाधि विजेता ओसाकाले पुरस्कार र विभिन्न प्रायोजनबाट ३० दशमलव ७ मिलियन पाउण्ड रकम आम्दानी गरेकी छिन्।
पछिल्लो १२ महिनामा ओसाकाले ३८ बर्षकी सेरेना भन्दा १ दशमलव १५ मिलियन पाउण्ड रकम बढी आम्दानी गरेकी छिन्।
दुवै खेलाडीले रुसी खेलाडी मारिया सारापोभाले सन् २०१५ मा आर्जन गरेको २४ दशमलव ४ मिलियन पाउण्डको कीर्तिमानी रकम तोडेका छन्।
फोब्सले सन् १९९० देखि महिला खेलाडीको बार्षिक आम्दानी सार्वजनीक गर्दै आएको छ। प्रत्येक बर्ष सार्वजनीक गरिने सुचिमा टेनिस खेलाडी शीर्ष स्थानमा पर्दै आएका छन्।
हैटीमा जन्मिएका बुवा र जापानी आमाबाट जन्मिएकी ओसाका सन् २०२० को सर्वाधिक कमाई गर्ने शीर्ष सय खेलाडीको सुचिमा २९ औं नम्बरमा छिन्। उनी सेरेना विलियम्स भन्दा चार स्थान अगाडी छिन्।
दुवै खेलाडी सन् २०१८ को युएस ओपनमा प्रतिस्पर्धा गरेका थिए। सेरेनालाई सो खेलमा हराउँदै ओसाकाले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिईन्। उनले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिईन्। पछिल्लो समय ओसाको फर्म खस्किएको छ। उनी डब्लुटीएले सार्वजनीक गर्ने वरियता अनुसार शीर्ष स्थानबाट तल झर्दै १० औं स्थानमा आएकी छिन्।
यसअघि पछिल्ला चार बर्ष विलियम्स सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी थिईन्। त्यसअघि सारापोभाले लगातार ५ बर्ष शीर्ष स्थानमा कब्जा जमाएकी थिईन्। एजेन्सी


























