काठमाडौं, जेष्ठ ८ । नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो। नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत भएको बताएको छ।
कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा भनेका छन्।
कांग्रेसले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ।


























