– प्रकृति न्यौपाने,
म विकास विरोधी हुन खोजेको होइन। तर, यदि तपाईं पनि विकास चाहनुहुन्छ भने ४३३ वर्ग किलोमिटरको भरतपुर महानगरपालिकाभित्र विकास हुनुपर्ने र गर्नुपर्ने अरू पनि थुप्रै सम्भावना र समयानुसार त्योभन्दा पनि कयौं गुणा बढी आवश्यकताहरू छन्। र शिक्षा, स्वास्थ्य तथा खेलकुद मात्र नभएर पर्यटन विकासका लागि पनि ती अपरिहार्य हुन सक्छन्। अहिलेको समयमा पर्यटन प्रवृर्द्धन गर्न नयाँ कामको थालनीभन्दा हाल डामाडोल अवस्थामा पुगेको पर्यटन क्षेत्रलाई बिस्तारै वातावरण सहज हुँदै गएपछि कसरी उकास्ने भनेर सोच मात्रै पुर्याउन सके पनि ठूलो राहत मिल्न सक्छ। प्रसङ्ग हो, हाल निर्माण कार्य थालिएको ‘नारायणी सी बिच कन्सेप्ट पार्क’को, जुन पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको नारायणगढस्थित नारायणी नदी किनारमा निर्माण हुँदैछ।
१. पार्कको पोष्ट फेसबुकमा देख्ने बित्तिकै साउने बाढीले निम्त्याउन सक्ने असरबारे कत्तिको ध्यान दिएको होला भनेर मनमा प्रश्न उब्जिन थाल्यो। ‘बिच’ नै भनेपछि हाल भइरहेको सतहलाई उकासेर पानीले नभेट्ने गरी माथि उठाएर बनाउने त होइन होला, त्यसैले बनेको संरचनालाई पानीले डुबाउने र असर न्यूनीकरणको लागि भरतपुर महानगरपालिकाले पक्कै पनि विज्ञहरूसँगको सल्लाह लिएकै होला। तर, फेरि बिच क्षेत्र सुरक्षित भएपछि बाढीले नदीको तलमाथिका क्षेत्रमा पार्न सक्ने प्रभाव सम्झेर मनमा त्रास उत्पन्न भयो। हालको अवस्था हेर्ने हो भने पनि नदी किनारमा वर्षाको समयमा हुने पानीको सतहबारे सबै जानकार छन्। त्यसैले असार, साउन र भदौ महिनाभरी जलमग्न भएर संरचनामा बालुवा थुप्रिए भरतपुर महानगरपालिकालाई फेरि अर्को केही महिनाको लागि काम पाउने पक्का छ।

२. नयाँवर्षमा बिहानै नारायणीको जल लिएर हरिहरको दर्शन गरेको, वर्षभरिका औँसी र एकादशीमा आमा–बुवाहरू दर्शन गएका, वर्षौँदेखि धार्मिक र सांस्कृतिक महत्त्व बोकेको नारायणी नदी किनार र मन्दिरको अस्थित्वमा केही आँच त नआउला नि?
३. केही समय पहिला महानगरकै वातावरणविदसँगको वार्तालापमा फोहोर व्यवस्थापनका लागि नारायणी नदीको नगरवन क्षेत्र नै प्रयोग हुँदै आएको बताउनुभएको थियो। कुरा भएको त केही समय भइसक्यो, फोहोर व्यवस्थापनको लागि ‘ल्यान्डफिल साइट’ जस्ता योजनाको खबर मैले नसुनेको भए छुट्टै कुरा। या योजना बनेका छन् भने पनि पहिला त्यसको कार्यन्यन्वयन गरेर बल्ल बिचतिर लागे यताको व्यवस्थापनलाई सहज हुने थियोे कि? आउने समस्यालाई नजरअन्दाज गर्दैमा आखिर समस्या समाधान हुने त होइन होला?

४. हामी विकास भनेको ठूला–ठूला महल र कंक्रिट मात्र सोच्छौँ। के बगरको बालुवामा दौडनुको मजा सिमेन्टको टल्कने लेनले प्रदान गर्ला त? संसारले नै प्रकृतितर्फ फर्क भनिरहेको बेला हामी भने विकासको अन्धभक्त भएर प्रकृतिको सुन्दरतामा दखल पुर्याउन किन तम्सिँदै छौँ? के साँच्चै नै पर्यटक आकर्षण गर्न र सुन्दर देखिन नारायणीलाई भौतिक श्रृङ्गार र अन्तर्राष्ट्रिय सी बिच मोडल आवश्यक छ त? प्रकृति आफैँमा सुन्दर छ, उचित संरक्षण होस्। तर श्रृङ्गारको नाममा कंक्रिट नबनोस्।
सिंगापुरको ‘आर्टिफिसियल सी बिच’ यता र उताको कुरा गर्ने हो भने तिनले निम्त्याएका असर अनि बिचहरूकै व्यवसायीकरणले भएको वातावरण र जल पर्यावरणको दुर्गती पनि ख्याल राखौं। विद्यमान अवस्थामा भौतिक विकासले निम्त्याएको दुर्गतीबाट पाठ सिकेर अब गर्ने विकास दिगो होस् भन्ने किन चाहँदैनौँ हामी?

आर्टिफिसियल बिचमा तस्बिर खिचेर फेसबुकमा ‘प्रोफाइल पिक्चर’ परिवर्तन गर्न उत्सुक जमातलाई त मेरो भन्नु केही छैन। तर, कोही साँच्चै नै यस विषयलाई गम्भीरतापूर्वक लिने र जानकार हुनुहुन्छ भने यति जान्न चाहन्छु कि, के मेरो मनमा उब्जेका बिचारहरू अनावश्यक हुन्? या फाइदाभन्दा बेफाइदाप्रति केन्द्रित भएको हो? के भरतपुर महानगरपालिकाले पेटको भोकभन्दा ओठको ढसारो गर्नप्रति लालायित बनेको हो र? टिप्पणीभन्दा पनि जिज्ञासा मेटाउने उत्तर चाहन्छु, धन्यवाद!



























One Comment
Gyan
Kuro 100 % sahi chha prakritile ramro awaz uthaunubhako chha Narayani river conservation sambandhama 😊