जेष्ठ ६ । नर्वेजियन फरवार्ड ईर्लिङ हाल्याण्ड तत्काल बोरुसिया डर्टमण्डमै बस्ने भएका छन्। क्लबले सन् २०२२ सम्म हाल्याण्डलाई जर्मनमै राख्ने मौखिक सहमती गरेको जनाएको छ।
उनी गत जनवरीमा मात्र बुन्डेसलिगा क्लब डर्टमण्ड आएका थिए। तर उनी युरोपेली क्लब फुटबलमा सर्वाधिक माग गरिएका युवा फरवार्ड रहेका छन्।
प्रिमियर लिग र स्पेनिस लिगका धनी क्लब हाल्याण्डलाई अनुबन्ध गर्न ईच्छुक देखिएका छन्। स्पेनिस महारथी क्लब रियल मड्रिड हाल्याण्डलाई यसै बर्ष स्पेन उतार्न ठुलो रकम खर्च गर्न तयार देखिएको छ।
तर बोरुसिया डर्टमण्डले हाल्याण्डलाई सन् २०२२ सम्म क्लबमै राख्ने मौखिक सहमती बनेको जनाएको छ।
क्लबले हाल्याण्डका एजेण्ट मिनो राईलासंग थप दुई बर्ष नयाँ क्लब खोज्न नपाउने गरि नयाँ सहमती गरेको हो।
सन् २०२२ पछि रियलले हाल्याण्डलाई चाहेको खण्डमा १ सय ७ मिलियन डलर तिर्नुपर्नेछ।
गत शनिबार पुन सुरु भएको बुन्डेसलिगाको खेलमा डर्टमण्डलाई ४–० को जित दिलाउन हाल्याण्डले गोल गरेका थिए। उनी युरोपका उत्कृष्ट युवा फरवार्डको रुपमा उदाएका छन्। उनी गत जनवरीमा मात्र रेडबुल साल्जवर्गबाट डर्टमण्ड क्लब आएका थिए।
रियल मड्रिडले नयाँ सिजन हाल्याण्डसंगै केलियन एम्बाप्पे र ईडेन हजार्डको आक्रमक लाईन बनाउन खोजिरहेको छ। तर नर्वेजियन फरवार्डलाई अनुबन्ध गर्न रियललाई गाह्रो पर्ने देखिएको छ।
हाल्याण्ड डर्टमण्ड आएर ८ खेलमा १३ गोल गरिसकेका छन्। रियलले करिम बेन्जिमाको विकल्पको रुपमा हाल्याण्डलाई रोजेको छ।
प्रिमियर लिग म्यान्चेष्टर युनाईटेडले समेत हाल्याण्ड अनुबन्ध गर्न चासो देखाईरहेको छ। तर हाल्याण्डले युनाईटेडको प्रस्ताव नकार्दै डर्टमण्ड जाने निर्णय गरेका थिए। एजेन्सी


























