जेष्ठ ५ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्वउपराष्ट्रपति जो बाइडनलाई कारागार पठाउनुपर्ने बताएका छन्।
फक्स टीभीसँग शनिवार बिहान कुरा गर्दै ट्रम्पले माइकल फ्लिनको मुद्दामा ओबामा र बाइडन दोषी रहेको भन्दै जेल हाल्नुपर्ने बताएका हुन्। त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताए।
हाम्रो देशको इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक अपराध थियो,’ ट्रम्पले ओबामा र बाइडनका सम्बन्धमा बताए।
‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे। म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने।
‘हाम्रो देशको इतिहासमा यति ठूलो राजनीतिक घोटाला भयो। यसका लागि मानिसहरू जेल जानुपर्ने हुन्छ र आशा गरौं धेरै मानिसले यसको मूल्य चुकाउनेछन्।’
एफबीआईले राष्ट्रिय सुरक्षा सल्लाहकारका विषयमा अनुसन्धान गर्न खोजिरहेको बाइडन र ओबामालाई थाहा भएको अनि त्यतिखेरको प्रशासनले फ्लिनको पहिचान खोल्न अनुरोध गरेको बताइएको छ।
जनरल फ्लिनविरुद्धको मुद्दा खारेज गरेकोलाई ट्रम्पले प्रशंसा गरे। उनीहरूविरुद्ध लागेको आरोपको व्यवस्थापन गरेकोमा फ्लिनलाई ट्रम्पले नायकको संज्ञा दिए। एजेन्सी


























