काठमाडौं, जेष्ठ ४ । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन्।
सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन्। विभागले नयाँ नक्सा तयार पारिसकेको छ।
नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ। नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए।
नेपालको हाल प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन। लामो समयदेखि सो भूभाग नरहेको तर अहिलेको सरकारले त्यो सहित समेटेर नयाँ नक्सा जारी गर्ने अर्यालले अनलाइनखबरसँग बताएकी थिइन्।
नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन। सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने भएको छ।


























