जेष्ठ ३ । कोरोना भाईरसको महामारीले स्थगित जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा फुटबल आज (शनिबार) सुरु हुँदैछ।
कोरोनाको कारण गत मार्चबाट स्थगित भएको लिग करिब दुई महिनापछि पुन सुरु हुन लागेको हो। बुन्डेसलिगा कोरोनापछि सुरु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो।
फ्रान्सको लिग वान रद्द भएको अवस्थामा बुन्डेसलिगा भने सुरु हुन लागेको हो। शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ। सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ।
नेपाली समय अनुसार साँझ सवाँ ७ बजे पाँच खेल हुनेछ। पहिलो दिनको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले शाल्केसँग घरेलु मैदानमा खेल्नेछ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा छ। शाल्केविरुद्ध जित निकाल्दै डर्टमण्ड शीर्ष स्थानको वायर्न म्युनिखसँग अंक दुरी कम गर्न लक्ष्य सहित मैदान उत्रनेछ।
युरोपेली क्लब फुटबलमा सर्वाधिक माग रहेका दुई युवा खेलाडी ईर्लिङ हाल्याण्ड र जोडन साञ्चो डर्टमण्डको जर्सीमा मैदान उत्रनेछन्।
डर्टमण्डको २५ खेलमा ५१ अंक रहेको छ। वायर्नको ५५ अंक रहेको छ। ३७ अंक जोडेको शाल्के छैटौं स्थानमा रहेको छ।
सोही समय अग्स्बर्ग र वुल्फवर्ग, फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्न, होफेनहाइम र हेर्था बर्लीन तथा आरबी लिपजिग र फ्रेईबर्गले प्रतिस्पर्धा गर्नेछन्।
दिनको अन्तिम खेलमा राति सवाँ १० बजे फ्रान्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी


























