जेष्ठ ३ । जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा सहमति जनाउँदै स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका हुन्।
गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले तत्कालीन स्वास्थ्य मन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरेका थिए। राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमा थिए भने लुइजले लकडाउन खोल्दा गम्भीर संकट आउने बताएका थिए।
बोल्सोनारो लुइजलाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्य मन्त्री बनाएका हुन्। तर उनले पनि राष्ट्रपति बोल्सोनारोकै नीतिमा असहमति जनाउँदै राजीनामा दिएका हुन्।
बोल्सोनारोले जिम तथा ब्युटिपार्लर पुनः सञ्चालनका लागि अनुमति दिएपछि नेल्सनले त्यसको विरोध गरेका थिए। तर उनले आफ्नो राजीनामाको स्पष्ट कारण भने पत्रकार सम्मेलनमा खुलाएका छैनन्। राष्ट्रपति बोल्सोनारोले लकडाउनको विरोध गर्ने क्रम जारी राखेका छन्।
उनले कोरोना भाइरसलाई ‘सानो फ्लू’ मात्रै रहेको बताउने गरेका छन्। उनको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ। ब्राजिलमा पछिल्लामा दिनमा कोरोना भाइरस क्रमितको संख्या तीव्र रुपमा बढी रहेको छ।
कोरोना भाइरस महामारीको विश्वका एक हटस्पट बन्दै गएको छ ब्राजिल। त्यहाँ संक्रमितको संख्या दुई लाख १८ हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ३०५ संक्रमित थपिएका हुन्।
यस्तै ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पनि १४ हजार ८१७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८२४ जनाको ज्यान गएको हो।
पत्रकार सम्मेलनमा राजीनामाको कारण नखुलाएका नेल्सनले सेवा गर्ने अवसरका लागि राष्ट्रपति बोल्सोनारोलाई धन्यबाद दिए।
यस्तै उनले स्वास्थ्यकर्मीहरुको प्रशंसा गरे। राष्ट्रपतिलाई धन्यबाद दिए पनि उनी विगतमा महामारीको विषयलाई लिएर बोल्सोनारोको प्रतिवादमा उत्रिने गरेका थिए।


























