चितवन, भदौ १८ । भरतपुर अस्पतालले कोरोना संक्रमितको उपचारको लागि शय्या थप गरेको छ। अस्पतालका विभागीय प्रमुखहरुकाे बैठकले आइतबारदेखि सेवा दिने गरी हाल सञ्चालनमा रहेको ७५ शय्यासहित १७५ पुर्याइएको अस्पतालले जनाएको छ। अस्पतालले यसअघि १० शय्याको सघन उपचार कक्ष (आइसीयू)सहित ७५ शय्याको आइसोलेसन सञ्चालन गरेको थियो। जिल्लामा स्वास्थ्यकर्मीसँगै समुदायस्तरमै कोरोनाको जोखिम बढ्दै गएपछि संक्रमितको उपचारका लागि थप सेवा सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।
‘अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमणको उच्च जोखिममा भएकोले पनि शय्या थप गर्नुपरेको हो,’ उनले भने, ‘समुदायस्तरका संक्रमितको उपचारको लागि पनि आइसोलेसन कक्ष अभाव हुँदै गएकोले सेवा थप गर्नुको विकल्प नै छैन।’ हाल अस्पतालले ‘ए’ ब्लकबाट कोरोना संक्रमितको उपचार गराउँदै आएको छ। आइतबारदेखि सर्जरी वार्ड रहेको स्थान र अब्जरभेसन रहेको स्थानमा ३५/३५ शय्या र मेडिकल क्याविन रहेको स्थानमा २४ शय्या गरी ९४ शय्या तथा थप ६ शय्याको सघन उपचार कक्ष (आइसीयू)बाट सेवा उपलब्ध हुनेछ। हाल सञ्चालनमा रहेको १० शय्याको आइसीयूमा ६ शय्या थप गरेपछि आइसीयू शय्या पनि १६ पुगेको छ।
संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि पनि अस्पताल परिषरमै क्वारेन्टाइन सञ्चालन गरिने उनको भनाइ छ। ‘अहिले होटललाई क्वारेन्टाइन बनाएर अस्पताल र होटलबीच जानेआउने मात्रै गरिरहेका स्वास्थ्यकर्मीको लागि अस्पतालभित्रै ४८ शय्याको सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गर्दैछौँ,’ डा अधिकारीले भने, ‘यसो गर्दा अस्पताल र स्वास्थ्यकर्मी दुवैलाई थप सहज हुने हामीले विश्वास गरेका छौँ।’



























