काठमाडौं, जेष्ठ ३ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घिउलगायत अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथ भित्र गएको चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको हो।
होम डेलिभरीमार्फत चामल, कर्णालीको सिमी र दाल बिक्रीवितरण गरिँदै आएकामा उपभोक्ताको माग अनुसार गत आइतबारदेखि दुग्ध विकास संस्थान (डिडिसी) को घिउसमेत बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा आधा किलोको घिउ डिडिसीको मूल्यमा नै बिक्री गरिएको छ।
कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरेको छ।
गत चैत अन्तिम सातादेखि वैशाख मसान्तसम्म अनलाइनमार्फत १२७ क्विन्टल चामल, आठ क्विन्टल सिमी, ११५ किलो दाल र ३० किलो केराउ गरी रु सात लाख ९५ हजार २५७ बराबरको खाद्य पदार्थ बिक्री गरिएको उनले जानकारी दिए। कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ।
काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गर्दै आएको छ।
प्रतिव्यक्ति रु दुई हजारदेखि रु पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ। अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेन्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले पहिलो चरणमा चक्रपथभित्र मात्र सेवा प्रदान गरे तापनि क्रमशः काठमाडौँ उपत्यकाका सबै ठाउँमा सेवा बिस्तार गर्ने तयारी गरेको जनाइएको छ। रासस


























