जेष्ठ २ । रूसले मानवीय सहायताका रुपमा उत्तर कोरियालाई २५ हजार टन गहुँ पठाएको छ। उत्तर कोरियाली राजधानी प्योङयाङस्थित रूसको दूतावासले फेसबुक पोस्ट मार्फत यसको जानकारी दिएको हो।
रुसी दूतावासले जहाज मार्फत लगिएको गहुँ बन्दरगाहको अलग्गै क्षेत्रमा उतारिएको छ। कोरोनाभाइरस संक्रमणको जोखिमका कारण जहाजको चालक दललाई क्वारेन्टिनमा राखिएको छ।
गएको अप्रिलमा संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको एक रिपोर्टमा उत्तर कोरियाका करीब एक करोड मानिस खाद्यान्न अभावको चपेटामा रहेको भन्दै चेतावनी दिइएको थियो।
कोरियामा खाद्यान्न आपूर्तिमा कोरोनाभाइरसका कारण समस्या सिर्जना भएको हो वा अन्य कारणले भन्ने प्रष्ट हुन सकेको छैन।
उत्तर कोरियाले हालसम्म आफ्नो मुलुकमा कोरोनाभाइरस संक्रमण नभित्रिएको दाबी गर्दै आएको छ।
अमेरिकासँग सम्बन्ध चिसिएपछि पछिल्ला वर्षहरुमा उत्तर कोरियाले रुस, चीन लगायतका विश्वशक्ति आफ्नो पक्षमा रहेको देखाउन जोड दिंदै आएको छ। गएको वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रुसमा शिखर वार्ता भएको थियो। एजेन्सी


























