वासिङटन, जेष्ठ २ । अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्। पछिल्लो २ महिनामा बेरोजगार भत्ता माग गर्दै यतिधेरैले फारम भरेका हुन्। उनीहरुमध्ये झण्डै ३० लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन्।
बेरोजगार भत्ताको दाबी गर्नेहरुको संख्या बढ्दै गएपछि सरकारले केही राज्यहरुमा व्यापारिक तथा व्यावसायिक गतिविधिलाई पुनः सञ्चालन गर्न अनुमति दिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि अहिले लाखौं मानिसले अमेरिकामा रोजगारी गुमाएको श्रम विभागले जनाएको छ।
यति धेरै मानिस एकैचोटी रोजगारविहिन भएको र बेरोजगार भत्ता पनि यति धेरै मानिसले एकै पटक मागेको यो दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन्। बेरोजगार भत्ताका लागि फाराम भरेका मध्ये केहीले भने अहिले राहत प्राप्त गर्न निकै कठिनाई भइरहेको बताएका छन्। रासस–एपी


























