जेष्ठ २ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कोरोना भाईरसको महामारीका बीच राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ।
बीसीसीआईले महामारीका बीच क्रिकेट सुरु गर्ने उद्धेश्य अनुरुप आफ्ना खेलाडीलाई आईसोलेसन राख्ने गरि शिविर आयोजना गर्ने तयारी गरेको हो।
बोर्डले दुई महिनाभित्र खेलाडी तथा स्टाफलाई आफ्नो अभ्यास सुरु गर्न मिल्ने गरि सम्भावित स्थानको खोजी अघि बढाएको छ।
टाईम्स अफ ईन्डियाको रिपोर्ट अनुसार बेङ्गलोरस्थित नेश्नल क्रिकेट एकेडेमी (एनसीए) मा अभ्यासका लागि सबै सुविधा उपलब्ध छ। तर कोरोना भाईरस संक्रमणको प्रभावमा कमी नआएका कारण प्रक्रिया अघि नबढेको हो।
बोर्डले खेलाडी तथा प्रशिक्षणमा सहभागी हुने स्टाफलाई स्वच्छ र सुरक्षित वातावरणमा राख्न चाहेको छ। बीसीसीआईले केही वैकल्पिक स्थानको समेत छलफल गरिरहेको छ।
बीसीसीआईका एक अधिकारीले भने, ‘हाम्रो प्राथमिकता खेलाडीको सुरक्षा हो। हामीले आवश्यक सामानको प्रबन्ध गर्नपर्छ र बेङ्गलोरको सुरक्षाको समेत जाँच गर्नपर्छ। यदी अवस्था ठिक देखिएन भने अन्य क्षेत्रको खोजी गर्नेछौ। सिनियर खेलाडीलाई स्थानीय मैदानमा खेल्ने विकल्प छ। हामी खेलाडी तथा टिम व्यवस्थापकसंग लगातार सम्पर्कमा छौ।’
बीसीसीआईका कोषाध्यक्ष अरुण धूमलले यसअघि खेलाडीलाई आउटडोर अभ्यासमा पठाउन सकिने बताएका थिए। तर उनले यस अवस्थामा खेलाडीलाई यात्रामा निकाल्न नसकिने उल्लेख गरेका थिए।
खेलाडीहरु अहिले खेलाडी ट्रेनरको रेखदेखमा एप्लिकेशन अनुसार अभ्यास गरिरहेका छन्। हरेक खेलाडीलाई बेग्ला बेग्ला फिटनेस तरिका निर्धारण गरिएको छ।
कोरोनाका कारण दक्षिण एसियाली राष्ट्र भारत सबैभन्दा बढी प्रभावित देखिएको छ। कोरोनाकै कारण आईपीएल लगायतका ठुला प्रतियोगिता रद्ध भईसकेको छन्। एजेन्सी


























