काठमाडौं, बैशाख ३१ । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ।
निगमको तथ्यांकानुसार गत चैत ११ गतेदेखि वैशाख २८ गतेसम्म देशैभर उक्त ६८ हजार किलोलिटर डिजेल र १६ हजार किलोलिटर पेट्रोल बिक्री भएको हो। लकडाउनपूर्व दैनिक आठ हजार डिजेल र तीन हजार पेट्रोल बिक्रीवितरण हुँदै आएको थियो। अन्य दिनमा पाँच दिनमा बिक्री हुने पेट्रोल र आठ दिनमा बिक्री हुने डिजेल लकडाउनका कारण ४५ दिनमा बिक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा टाइमकार्ड लागू गरेर सवारी साधन सञ्चालन हुँदा पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको छ।
लकडाउन अवधिमा थानकोट डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएकामा हाल खपत दोब्बर भएको छ।


























