बैशाख २८ । इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले सिजनको बाँकी खेल न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको छ।
प्रिमियर लिगले कोरोना भाईरसको महामारीको कारण स्थगित लिगको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउने तयारी गरिरहदा वाट्फोर्ड भने विपक्षमा उभिएको छ।
वाट्फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी स्कट डक्सबरीले यस कदमले खेलकुदको निष्पक्षता र अखण्डतामा सम्झौता हुने बताएका छन्।
स्कटले अहिलेको अवस्थामा दर्शक बिना खेल्न तयार भएको तर न्युट्रल भेन्युमा नखेल्ने द टाइम्समा लेखेका छन्।
‘वर्तमान परिस्थतिमा स्टेडियममा हामीसँग समर्थकहरू हुन सक्दैनन्। म स्वीकार गर्छु,’ उनले भनेका छन्, ‘यद्यपि हामीलाई भनिएको छ कि हामी आफ्नो मैदानमा बाँकी रहेका होम खेलहरू खेल्न सक्दैनौं र यसले फाइदा हुन्छ।’
वाट्फोर्ड न्युट्रल भेन्युमा खेल्न अस्वीकार गर्ने तेस्रो क्लब हो। यस अघि एस्टन भिल्ला र ब्राइटनले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो।
न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबले सोमबार छलफल गर्दैछ। यस्तै छलफलमा प्रिमियर लिग सुचारुको मितिबारे समेत छलफल हुनेछ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ। लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ। यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ। एजेन्सी


























