काठमाडौं, बैशाख २३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रचण्ड र नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। तीन नेताबीच आगामी बैशाख २५ बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डाका बारेमा छलफल भएको बुझिएको छ।
गत शनिबार बसेको सचिवालय बैठकमा विगतका कमिकमजोरीबारे प्रधानमन्त्री ओलीसहितका नेताहरुले आत्मालोचना गरेपनि सचिवालयबाट पद बाडफाड गर्ने निर्णयप्रति नेताहरुमा असन्तुष्टि कायमै छ।
यता अध्यादेश फिर्ता भैसकेपनि कुवेलामा अध्यादेश किन ल्याइयो भनेर त्यसको जवाफ प्रधानमन्त्रीबाट खोज्ने तयारी भइरहेको छ। स्थायी समिति बैठकअघि भोलि सचिवालय बैठक बस्दैछ।
उक्त बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेका प्रस्तावमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने तयारी छ।


























