बैशाख २३ । क्रिस्टियानो रोनाल्डोले दुई हप्ताको क्वारेन्टाईन (एकान्तवास) सुरु गरेका छन्। ईटाली फर्कने बित्तिकै युभेन्ट्सका स्टार रोनाल्डोले दुई हप्ताको एकान्तवास सुरु गरेका हुन्।
कोरोना भाईरसको संक्रमणले ईटाली प्रभावित बन्दा रोनाल्डोले करिब दुई हप्ता आफ्नो मुलथलो मदीरामा बिताएका थिए। देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए।
रोनाल्डो मे १८ मा मैदान फर्कने अपेक्षा गरिएको छ। क्लबले सोही समय आन्तरिक रुपमा अभ्यास पुन सुरु गर्ने तयारी गरेको छ।
ईटालीको सरकारले मे ४ बाट प्रशिक्षण सुरु गर्ने अनुमती प्रदान गरेको थियो। सोही कारण युभेन्ट्सले समेत आफ्ना विदेशी खेलाडीलाई स्वदेश फर्कन आग्रह गरेको थियो। कोरोनाले अवस्था जटिल बनेपनि धेरै विदेशी खेलाडीले ईटाली छाडेका थिए।
पुन ईटाली फर्कने खेलाडीले प्रशिक्षण सुरु गर्नुअघि दुई हप्ता एकान्तवास बस्नुपर्ने बताईएको छ। ३५ बर्षिया रोनाल्डो परिवार सहित टुरिन फर्कने क्रममा उनका धेरै साथीले युभेन्ट्सको अभ्यास स्थलमा कोरोनाको परिक्षण गरिएका थिए।
चोटबाट मुक्त हुने क्रममा रहेका आरोन राम्सी, फेडेरिको बर्नार्डेस्की, जुआन कुआड्राडो, कार्लो पिन्सोग्लियो र मेरिह डेमिरलको परिक्षण गरिएको थियो।खेलाडीले सामाजिक दुरी कायम राख्दै प्रशिक्षणमा सहभागी हुनेछन्। सिरि एका अधिकांश क्लबले सिजन पुन सुरु हुनुपर्ने पक्षमा मतदान गरेका थिए।
अवस्था सामान्यतर्फ उन्मुख भएपछि ईटालीमा फुटबल गतिविधि पुन सुरु हुन लागेको हो। एजेन्सी


























