बैशाख, २३ । स्पेनिस ला लिगा जुनबाट सुरु गर्ने तयारी गरिएको छ। आयोजकले स्थगित बनेको सिजनका बाँकी खेल जुनबाट सुरु गर्ने लक्ष्य राखेको हो।
कोरोना भाईरसका कारण स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो। क्लबहरु यसै साता प्रशिक्षणमा फर्कने तयारी छ। शीर्ष दुई डिभिजनका खेलाडीहरु व्यक्तिगत रुपमा अभ्यासमा सहभागी हुनेछन्।
खेलाडी र स्टाफको स्वास्थ्यको सुनिश्चितता गर्दै स्पेनको खेलकुद र स्वास्थ्य अधिकारीले सम्झौता गरेका थिए। सोही अनुसार यसै हप्ताबाट प्रशिक्षण सुरु गर्ने तयारी गरिएको हो।
अभ्यासमा फर्कनुअघि सम्पूर्ण खेलाडीको परिक्षण गर्ने तयारी गरिएको छ। गत मार्चमा स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो। शीर्ष डिभिजनका क्लबले प्रशिक्षणको विस्तृत योजना बनाएका छन्। सुरुवातमा व्यक्तिगत, सानो समूह हुँदै टिम प्रशिक्षणको सत्र सुरु गरिने बताईएको छ।
ला लिगामा ११ चरणको खेल बाँकी रहेको छ। बार्सिलोना लिगको शीर्ष स्थानमा छ। प्रतिद्धन्दी रियल २ अंकले पछि पर्दै दोस्रो स्थानमा छ। एजेन्सी


























