बैशाख २१ । आर्सनलका खेलाडी विलियम सालिबा लण्डन क्लब फर्कने भएका छन्। कोरोना महामारीका कारण फ्रेन्च लिग रद्ध भएपछि सालिबाले अर्को खेल आर्सनलबाट खेल्ने भएका हुन्।
आर्सनलका सेन्टर ब्याक गत सिजन एक बर्षको लोनमा फ्रेन्च क्लब सेन्ट ईटियन गएका थिए।
फ्रान्सले सबै फुटबल गतिविधि सेप्टेम्बरसम्म प्रतिबन्ध गर्दै शीर्ष डिभिजनको लिग रद्ध गर्ने निर्णय गरेको थियो। उसले तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई लिग उपाधि दिने निर्णय गरेको थियो।
लण्डनबाट प्राप्त रिपोर्ट अनुसार सालिबा फ्रेन्च क्लबमा जुन ३० सम्म अनुबन्धित छन्। उनी जुलाई १ बाट लण्डन क्लबबाट खेल्न उपलब्ध हुनेछन्।
फ्रेन्च लिग रद्ध भएपनि प्रिमियर लिग जुन वा जुलाईमा पुन सुरु गर्ने तयारी गरिएको छ।
फिफाका कानुनी निर्देशक एमिलियो गार्सिया सिल्वरोले कुनैपनि खेलाडीको जुन ३० सम्मको सम्झौता अगाडी बढ्न नसक्ने बताएका छन्।
खेलाडी सरुवा प्रक्रिया यथावत नरहने जानकारी दिदै उनले खेलाडी दर्ता समेत गर्न नपाईने उल्लेख गरेका छन्। उनको भनाई अनुसार सरुवा बजार समेत जुलाई १ मा खुल्ने छैन।
‘लोनको सम्झौता जुन ३० मा सकिनेछ भने खेलाडी आफ्नो क्लबमा फर्कन सक्नेछ। तर खेलाडी सरुवा बजार खुल्नेछैन।’ उनले प्रष्ट रुपमा भनेका छन्।
प्रिमियर लिगका शीर्ष क्लब अबरुद्ध सिजन पुन सुरु गर्ने बिषयमा आन्तरिक छलफलमा जुटेका छन्। अधिकांश क्लब तठस्थ मैदानमा सिजनका बाँकी खेल खेलाउनुपर्नेमा सहमत छन्।
लिग तालिकामा लिभरपुलले २५ अंकको अग्रता लिएको छ। एजेन्सी


























