काठमाडौं, बैशाख २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा देखिएको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसमा आइतबार विज्ञप्ति निकालेर सभापति देउवाले सरकारका अभिव्यक्ति र व्यवहारमा प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उल्लेख गरेका हुन्।
‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ। यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन्,’ देउवाले भनेका छन्।
उनले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियाले त्यही दायित्व निर्वाह गर्दा नकरात्मक दृष्टि राख्न नमिल्ने पनि बताएका छन्।
‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसकाविरूद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?,’ देउवाको प्रश्न छ। वर्तमान सरकारले बारम्वार प्रेसविरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि देउवाको आग्रह छ।
‘सरकार र यसको नेतृत्व बारम्वार प्रेसका विरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रूपले अपिल गर्दछु,’ उनले भनेका छन्।
कोरोनाभाइरस महामारीका बेला पत्रकारको व्यक्तिगत सुरक्षा र मिडिया व्यवस्थापनका चुनौती पनि देखिएको देउवाको भनाइ छ।
‘विज्ञापनदेखि ढुवानीसम्म परेको असरले कतिपय मिडिया यसबीचमा बन्द भएका छन्। पत्रकार बेतलवी छन्,’ देउवाले भनेका छन्, ‘विशेष राहत योजना निर्माण गर्न म सरकारसँग आग्रह र माग गर्दछु।’
लकडाउनका बेला पनि सरकारले मिडियाविरूद्ध दवाव र स्पष्टिकरण सोधेर सत्ता संक्रमण बढाएको आरोप देउवाको छ।


























