ब्युनस आयर्स, बैशाख २० । कोरोना भाइरसको त्रासका कारण लामो समयदेखि स्थगित प्रिमियर लिग फुटबल पुनः सुचारु हुने तयारीमा छ। यसका लागि खेलाडीलाई नियमित अभ्यासमा फर्कने मिति पनि घोषणा गरिसकिएको छ। लिग आगामी जुन ८ तारिखदेखि सुचारु गर्ने र खेलाडीलाई मे १८ तारिखदेखि अभ्यासमा बोलाउने बताइएको छ।
तर, खेलाडीमा भने अझै पनि कोरोना भाइरसको त्रास कायमै छ। म्यानचेस्टर सिटीका अनुभवी स्ट्राइकर सर्जियो अग्वेरोले पनि खेलाडी अझै अभ्यासमा फर्कनबाट डराइरहेको बताएका छन्। ‘अझै पनि कोरोना भाइरसको जोखिम कम भएको छैन त्यसैले खेलाडीहरू अभ्यासमा फर्कन डराएका छन्’, अर्जेन्टिनी स्ट्राइकर अग्वेरोले भनेका छन्।
बेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण २६ हजार सात सयभन्दा बढीको ज्यान गइसकेको छ। हाल बेलायतमा एक लाख ७१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन्। त्यसैले पनि खेलाडीहरू नियमित अभ्यासमा फर्कन डराएका हुन्।
‘कोरोना भाइरसको संक्रमण रोकिएको छैन। त्यसैले अधिकांश खेलाडी तत्काल नियमित अभ्यासमा फर्कन तयार छैनन्। हरेक खेलाडीको परिवार छन्। अभ्यासका क्रममा कोरोना संक्रमित भए त्यसको असर परिवारका सदस्यसम्म पुग्छ भनेर पनि खेलाडी आत्तिएका हुन्’, ३१ वर्षीय अग्वेरो भन्छन्।
अर्जेन्टिनी राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अग्वेरोले कोरोना भाइरसको त्रासका कारण आफू लामो समयदेखि घरभित्रै रहेको पनि बताएका छन्। ‘कोरोना पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म म आफैं पनि अभ्यासमा फर्कने योजनामा छैन। आफ्नो कारणले अरूलाई संक्रमण नफैलियोस् भनेर खेलाडी पनि सचेत हुनु आवश्यक छ’, अर्जेन्टिनी टेलिभिजन एल चिरिनगुइटोसँगको कुराकानीमा उनले भनेका छन्।
कोरोना भाइरसको त्रासका कारण गत मार्च १३ तारिखदेखि इङ्लिस प्रिमियर लिग स्थगित छ। लिग स्थगित हुनुअघि २९ खेलबाट ८२ अंक बटुल्दै लिभरपुल पहिलो स्थानमा छ। २८ खेलबाट ५७ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ। जारी सिजनको प्रिमियर लिगमा अझै ९२ खेल हुन बाँकी छ।
पछिल्लो समय बन्द रंगशालामा लिग सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। ‘अन्य खेलाडीले पनि मसँग गम्भीर कुराकानी गरेका छन्। उनीहरू पनि तत्काल अभ्यासमा फर्कन चाहँदैनन्। त्यसैले जिम्मेवारी खेल अधिकारीले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ’, अग्वेरो भन्छन्।


























