पेरिस, बैशाख २० । फ्रेन्च लिग फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) लाई दिने निर्णय गरिएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित लिग सुचारु हुन नसक्ने भएपछि ‘लिग लिडर’ पीएसजीलाई उपाधि दिने निर्णय गरिएको हो।
कोरोना भाइरसको महामारीका कारण फ्रान्समा गत मार्च १३ तारिखदेखि फुटबलका सम्पूर्ण गतिविधि स्थगित गरिएको थियो। सोही कारणले फ्रेन्च लिग पनि स्थगित भएको थियो। लिग स्थगित हुनुअघि केही टोलीले २८ र केही टोलीले २७ खेल खेलेका थिए। यस आधारमा फ्रेन्च लिगमा अझै १० चरणको खेल हुन बाँकी थियो।
लिग स्थगित हुनुअघि २७ खेल खेलेको पीएसजी ६८ अंकसहित पहिलो र २८ खेल सकेको मार्सिल्ले ५६ अंकसहित दोस्रो स्थानमा थिए। गत मंगलबार फ्रान्स सरकारले आगामी सेप्टेम्बरसम्म खेलकुदका कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाएको थियो। सरकारको पछिल्लो निर्णयपछि लिग सुचारु हुन नसक्ने स्थिति सिर्जना भएको थियो।
त्यसपछि लिगमा सहभागी क्लबहरूले लिग टुंग्याउन उपयुक्त विकल्प खोजिनुपर्ने माग गर्दै आएका थिए। पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले पनि यस्तै धारणा राखेका थिए। ‘विपत्को यस घडीमा सरकारको निर्देशनलाई हामीले पालना गर्नै पर्छ। यो नागरिककै सुरक्षाका लागि हो’, उनले भनेका थिए, ‘तर, लिग टुंग्याउन हामीले उपयुक्त विकल्प खोज्नु आवश्यक छ।’ उनले अन्य राष्ट्रमा खेलाएर भए पनि लिग टुंग्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।
लिग तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच देखिएको अंकअन्तरका आधारमा पीएसजीलाई उपाधि दिने निर्णय गरिएको समाचारमा जनाइएको छ। ‘बी’ डिभिजन लिगको उपाधि पनि अंकतालिकाको पहिलो स्थानमा रहेको लोरियन्टलाई दिने निर्णय गरिएको छ।
यसैगरी ‘ए’ डिभिजन लिगबाट एमिन्स र टुलोउस रेलिगेसनमा परेका छन्। लिग स्थगित हुनुअघि २८ खेल खेलेको एमिन्स २३ अंकसहित १९औं र समान खेल खेलेको टुलोउस १३ अंकसहित २० औं स्थानमा थिए। लिग स्थगित हुनुअघि ४० अंकसहित तालिकाको सातौं स्थानमा रहेको लियोनले भने यो निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन गर्ने भएको छ।


























