कपिलवस्तु, बैशाख १९ । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ। वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन्।
करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए।
वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ। घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए। स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो। रासस
Facebook Comments


























