चितवन, बैशाख १७ । भरतपुरको कोरोना (विषेश) अस्थायी अस्पतालको अनियमितताबारे सार्वजनिक भएको समाचारको आधारमा पत्रकार सुवास पण्डितमाथि धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ चितवनले पत्रकारलाई धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ। महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बुधबार विज्ञप्ती जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो।
‘कोभिड–१९ को उच्च संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा जोखिम मोलेरै अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गराउने कर्म गरिरहेका सञ्चारकर्मी तथा सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्नेमा धम्की दिनु तथा दुर्व्यवहार गर्नु आपत्तिजनक छ,’ जारी विज्ञप्तीमा उल्लेख छ। चितवनको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालबाट शंकास्पदरुपमा स्वास्थ्य सामग्री बाहिरिएको र अस्पतालको खर्च प्रकृयामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि आरोपित कर्मचारी सम्वद्ध संगठन अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ चितवनले जारी गरेको संयुक्त विज्ञप्तीमा समाचार लेख्ने पत्रकारलाई पहिचान गरी आफैँले कारवाही गर्छौँ भनेर धम्की दिएका थिए।

पत्रकारले गरेको कार्यप्रति चित्त नबुझे कानुनी बाटो अपनाउनुको साटो ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैँले आवश्यक कारवाही गर्ने’ चेतावनी सहितको धम्की दिनु निन्दनीय र खेदजनक भएको उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघ चितवनका सदस्यसमेत रहेका पत्रकार पण्डित अनलाइन खबर डटकमका लागि चितवन संवाददाता हुन्।


























