काठमाडौं, बैशाख १५ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको आदेश जारी गरेको बेला मोटरसाइकलमा लागू औषध (गाँजा) तस्करी गर्ने ३ जना पक्राउ परेका छन्।
प्रहरीले धनुषा र नवलपरासी (पूर्व) जिल्लाबाट गरी अवैध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो।
धनुषाको बिदेह नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा १ किलो सहित २ जनालाई शनिबार राति पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ बस्ने ३१ वर्षीय प्रमोद दास र २६ वर्षीय दिप नारायण दास रहेका छन्।
प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले हट्ठीपुरबाट बफैतर्फ आउँदै गरेको ज १० प २३१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक प्रमोद दास र मोटरसइकलमा सवार दिप नारायण दासलाई पक्राउ गरेको हो।
यस्तै, नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका(११ अरुणखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित सोही नगरपालिका-१५ माथिल्लो भ्युरान बस्ने २८ वर्षीय तेज बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले लु ५९ प ९४५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तेजलाई पक्राउ गरेको हो।
साथै मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश कुमाल फरार रहेकोले प्रहरीले खोजी गरिहरेको छ।


























