चितवन, बैशाख १५ । सोमबार चितवन प्रहरीले चितवनका दुईजना पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले घोर भर्त्सना गरेको छ।
बिहान करिब १० बजेको समयमा समाचार संकलनका लागि भरतपुरको चौवीसकोठी पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीका अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गरेको महासंघसहित पत्रकार संवद्ध गंघसंगठनको ठहर छ।
आज पत्रकार महासंघ चितवन, प्रेस संगठन चितवन र नेपाल प्रेस युनियनले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै उक्त घटना निन्दनीय भएको बताइएको छ।
विज्ञप्तीमा जनाएअनुसार प्रहरीले पत्रकारहरुले आफू आवद्ध सञ्चार संस्थाको परिचयपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले दुर्व्यवहार गरेर जबरजस्ती सवारीसाधन, सञ्चार सामग्रीसहित नियन्त्रणमा लिइएको छ।
पत्रकारहरुले खिचेको तस्बिर र भिडियोसमेत हटाउन लगाएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमार्फत संकटको समयमा समाचार संकलन गरेर जनतामा सुसूचित गराउन स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको घटनाको निष्पक्ष छानविन गरी पत्रकारमाथि भएको दुर्व्यवाहरको क्षतिपूर्तिको समेत माग गरिएको छ।
साथै नियमित समाचार संकलनमा हिँड्ने पत्रकारहरुको सुरक्षा व्यवस्थाको लागि विशेष ध्यान दिन पनि स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।



























