बैशाख १५ । कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नियमित काम शुरु गरेका छन्। लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएका उनले काम शुरु गर्न आफू तयार रहेको अधिकारीहरुले जनाएका छन्।
उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका छन्। प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए। त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका हुन्। सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्ने लगायतका क्रियाकलाप गर्दै आएका छन्।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गरेका थिए।
जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अहिलेसम्म २० हजार ७३२ जनाको मृत्यु भइसकेको छ। यस्तै कोरोना संकमितको संख्या १ लाख ५४ हजार ३७ पुगेको छ।
बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ।


























