काठमाडौं, बैशाख १४ । प्रहरीले पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। थर्मल गनमा कालोबजारी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका अग्रवालविरुद्ध विभिन्न कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन्।
कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगका विषयमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो।
उनीविरुद्ध १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी सजाय मागदाबी गरिएको छ।
मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था रहेको छ।
प्रहरीका अनुसार चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए। विशेष सुराकीको आधारमा उनी काठमाडौंको नक्सालबाट पक्राउ परेका हुन्।


























